लेखक: सुनील धवन
संयुक्त राज्य अमेरिकाको ओहायो राज्यमा ग्रीन कार्ड होल्डर तथा विदेशी नागरिकहरूलाई जमिन खरिद र सम्पत्ति स्वामित्वमा रोक लगाउने प्रस्ताव अघि सारिएको छ। Newsweek को रिपोर्टअनुसार ओहायो राज्यका सांसदहरू हाल एउटा विधेयकमाथि छलफल गरिरहेका छन्, जसले राज्यका महत्वपूर्ण भूभागहरूमा विदेशी नागरिकहरू र केही ग्रीन कार्डधारीहरूलाई जमिन किन्न प्रतिबन्ध लगाउनेछ।
यो प्रस्तावित कानुनले विशेषगरी कृषियोग्य जमिन र सैनिक अड्डा तथा अत्यावश्यक पूर्वाधारहरू नजिकको २५ माइल दूरीभित्र पर्ने जमिन खरिदमा रोक लगाउनेछ। पूर्वाधारमा पावर प्लान्ट, पानी प्रशोधन केन्द्र, ग्यास पाइपलाइन, र यातायात केन्द्रहरू जस्ता संरचनाहरू पर्नेछन्। यस विधेयकलाई राष्ट्रिय सुरक्षासँग सम्बन्धित चिन्तालाई सम्बोधन गर्ने एउटा प्रयासको रूपमा हेरिएको छ, जुन राष्ट्रिय स्तरमै विदेशी जमिन स्वामित्वमाथि बढ्दो निगरानीको एक हिस्सा हो।
प्रतिनिधि एञ्जेला किङ, जसले यो विधेयक प्रस्तुत गर्न सहयोग गरेकी हुन्, उनले Newsweek सँगको कुराकानीमा भनिन्: “हालका ग्रीन कार्ड होल्डरहरू यदि पहिले नै सम्पत्तिको मालिक छन् भने तिनीहरूलाई ‘grandfathered in’ भनिनेछ अर्थात् तिनीहरूलाई त्यो सम्पत्ति राख्न अनुमति दिइनेछ। तर भविष्यमा २५ माइलको दायराभित्र पर्ने क्षेत्रभित्र नयाँ सम्पत्ति किन्न तिनीहरूले पाउने छैनन्।”
ग्रीन कार्ड, जसलाई Permanent Resident Card पनि भनिन्छ, अमेरिकी स्थायी आवासको प्रमाण हो। यो कार्डले व्यक्ति अमेरिकामा बस्न, काम गर्न, र परिचयपत्रको रूपमा प्रयोग गर्न सक्ने वैधता दिन्छ।
विधेयक House Bill 1 र Senate Bill 88 को रूपमा अघि सारिएको छ, जसले अमेरिकी नागरिक नभएका व्यक्तिहरू—जसमा केही ग्रीन कार्डधारीहरू पनि पर्नेछन्—र विदेशी कम्पनीहरूलाई जमिन खरिदमा प्रतिबन्ध लगाउनेछ। यो प्रस्ताव विशेष रूपमा ती व्यक्तिहरू र कम्पनीहरूलाई लक्षित छ, जसको जन्म वा मुख्य स्वामित्व अमेरिका विरोधी (foreign adversarial) देशहरूमा छ, जस्तै चीन, रुस, र इरान।
यो कानुन टेक्सस र फ्लोरिडामा लागू गरिएका यस्तै किसिमका नियमहरूसँग मेल खान्छ, जसले राष्ट्रियस्तरमा कानुनी विवाद र बहस निम्त्याएको छ। त्यहाँ जस्तै ओहायोमा पनि अब विदेशी स्वामित्वमाथि कडाइ हुनसक्ने देखिएको छ।
Newsweek को रिपोर्टमा भनिएको छ कि किङले यो विधेयक अमेरिकाका महत्त्वपूर्ण संरचनाहरू—जस्तै विद्युत गृह, ग्यास लाइनहरू, जल प्रशोधन केन्द्रहरू, सैनिक अड्डाहरू—लाई सम्भावित निगरानी र गुप्तचर गतिविधिबाट जोगाउने उद्देश्यले ल्याइएको बताएकी छिन्।
उनका अनुसार, “यो हाम्रो कर्तव्य हो कि हामी हाम्रो पूर्वाधार संरचनालाई सुरक्षित राखौं। त्यसैले चीन, रुस, इरान जस्ता विदेशी शत्रु देशका नागरिकहरूलाई २५ माइलभित्रको जमिन खरिद गर्नबाट रोक्नुपर्ने आवश्यकता छ।”
यो प्रतिबन्धले ओहायो राज्यभर फैलिएका धेरै भूभागहरूमा प्रभाव पार्नसक्नेछ, किनकि सैनिक अड्डा, यातायात केन्द्र, र पावर प्लान्टहरू धेरै स्थानमा रहेका छन्। फलस्वरूप, विदेशी नागरिकहरूका लागि जमिन खरिद गर्न सकिने क्षेत्रहरू अत्यन्त सीमित हुनेछन्।
यस कानूनले अमेरिकी नागरिक र दोहोरो नागरिकता (dual citizenship) भएकाहरूलाई भने छुट दिनेछ। तर प्रभावित गैर–नागरिकहरूले भने प्रतिबन्ध लागु भएपछिको दुई वर्षभित्र उनीहरूको स्वामित्वमा रहेका प्रतिबन्धित क्षेत्रका सम्पत्तिहरू बिक्री गर्नु पर्नेछ।
ओहायो राज्यको Ohio Realtors Association ले मे २० मा आफ्नो वेबसाइटमा प्रकाशित वक्तव्यमा उल्लेख गरेको छ: “यो विधेयक विदेशी जमिन खरिदसँग जोडिएको राष्ट्रिय सुरक्षाको चासोलाई सम्बोधन गर्ने राष्ट्रव्यापी प्रयासको हिस्सा हो। यद्यपि, हालको रूपमा लेखिएको यो विधेयक अत्यधिक प्रतिबन्धात्मक छ र उच्च जोखिम भएका कारोबार मात्रै नभई सामान्य आवास खरिदजस्ता क्रियाकलापहरूमा समेत असर पार्नेछ।”
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प को प्रशासनकालमा अमेरिकामा आप्रवासन नीतिमा कडाइ गरिएपछि ग्रीन कार्ड होल्डरहरूले थप अनिश्चितताको सामना गर्नुपरेको थियो। कतिपय ग्रीन कार्डधारीहरूलाई विमानस्थलमा नियन्त्रणमा लिइएको थियो, वा उनीहरूलाई देश निकाला गर्ने प्रयाससमेत गरिएको थियो।
अब, ओहायो राज्यमा प्रस्तुत गरिएका House Bill 1 र Senate Bill 88 विधेयकहरू अमेरिकी भूमि खरिदमाथि हालसम्मकै कडा नियन्त्रणको प्रयास मानिएको छ, जसले विदेशी लगानी, अन्तर्राष्ट्रिय विद्यार्थीहरू, अनुसन्धान संस्था, तथा प्रविधि क्षेत्रमा काम गर्ने कम्पनीहरूलाई समेत असर पार्नसक्ने विज्ञहरूले चेतावनी दिएका छन्।
यदि विधेयक पारित भयो भने, त्यसले ओहायो राज्यमा बसोबास गर्न चाहने ग्रीन कार्ड होल्डरहरूका लागि दीर्घकालीन असर पार्नेछ, र अमेरिकामा विदेशीहरूको जमिन स्वामित्वप्रतिको नीतिमा व्यापक परिवर्तन ल्याउनेछ।
स्रोत: Newsweek / Reuters
Nepali in USA Your Guide to Life in the USA
