Thursday , 1 May 2025

संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरूका लागि कानुनी हैसियत प्रमाणित गर्ने कागजात सधैं बोक्न अनिवार्य

संयुक्त राज्य अमेरिकामा तपाईं नेपाली नागरिकको रूपमा – चाहे H-1B कामदार भिसा, F-1 विद्यार्थी भिसा, DV Lottery Visa वा अन्य कुनै अवस्थाको आधारमा हुनुहुन्छ भने – अब तपाईंले सधैं आफ्नो कानुनी हैसियत प्रमाणित गर्ने कागजात साथमा राख्नुपर्नेछ। यो नयाँ निर्देशन डोनाल्ड ट्रम्प प्रशासनद्वारा जारी गरिएको हो, जुन अप्रिल ११ बाट लागू भइसकेको छ।

यो आदेश ट्रम्पको कार्यकारी आदेश ‘Protecting the American People Against Invasion’ अन्तर्गत पर्छ, जसलाई आप्रवासन नियन्त्रण कडा बनाउने र अवैध रूपमा बसोबास गरिरहेका व्यक्तिहरूलाई देश निकाला गर्न दबाब दिने कदमका रूपमा हेरिएको छ।

पुरानो कानुन, अहिले कडाइका साथ कार्यान्वयन

यो नियम १९४० को Alien Registration Act (विदेशी दर्ता ऐन) मा आधारित छ, जसले आप्रवासीहरूलाई अनिवार्य रूपमा दर्ता गर्नुपर्ने व्यवस्था गरेको थियो, तर यो नियम विगतमा नियमित रूपमा कार्यान्वयन गरिएको थिएन। अहिलेको नयाँ संस्करण, जसलाई Alien Registration Requirement (ARR) भनिएको छ, यसले ती पुराना प्रावधानहरूलाई पुनः सक्रिय गर्दै कडाइका साथ समयसीमा र सजाय व्यवस्था गरेको छ।

नियमका मुख्य बुँदाहरू

  • १४ वर्षभन्दा माथिका सबै गैरनागरिकहरू, जो अमेरिका भित्र ३० दिनभन्दा बढी बस्छन्, Form G-325R मार्फत अनिवार्य दर्ता गर्नुपर्नेछ।
  • १४ वर्षभन्दा मुनिका बालबालिकाहरूको दर्ता अभिभावकले गराउनु पर्नेछ।
  • नयाँ आगन्तुकहरूले अमेरिका प्रवेश गरेपछि ३० दिनभित्र दर्ता गरिसक्नुपर्नेछ।
  • दर्ता नगरेको अवस्थामा जरिवाना, जेल वा दुवै हुनसक्छ।
  • ठेगाना परिवर्तन भएको १० दिनभित्र जानकारी दिनुपर्नेछ।
  • १४ वर्ष पुगेका बालबालिकाहरूले पुनः दर्ता गर्नुपर्नेछ र औँठाछाप (fingerprints) पेश गर्नुपर्नेछ।

नेपाली नागरिकहरू र कानुनी आप्रवासीहरूमा प्रभाव

अमेरिकामा करिब २ लाख ८ हजार नेपालीहरू बसोबास गरिरहेका छन्, जसमध्ये अनुमानित १,३६५ व्यक्ति अवैध रूपमा बसिरहेका छन्। H-1B भिसा, अन्तर्राष्ट्रिय विद्यार्थी जस्ता कानुनी हैसियत भएका आप्रवासीहरूले नयाँ फारम भर्नु पर्दैन, तर उनीहरूले आफ्नो कानुनी हैसियत प्रमाणित गर्ने कागजात सधैं साथमा राख्नुपर्नेछ।

किङ स्टब एन्ड कासिभाका वकिल अरेलिया मेनेजेसका अनुसार, “यो कदमले राष्ट्रिय सुरक्षालाई मजबुत पार्ने उद्देश्य राखेको छ। यसले गलत कागजातहरू प्रयोग गरेर बसोबास गरिरहेका व्यक्तिहरूको पहिचान र कारबाहीमा सहायता पुर्‍याउँछ।”

नियमको उल्लंघन गर्दा हुने परिणाम

  • कागजात बोकेर नहिँडेमा वा देखाउन नसक्दा छ महिनासम्मको जेल सजाय वा जरिवाना हुनसक्छ।
  • दर्ताले देश निकाला (deportation) बाट सुरक्षा ग्यारेन्टी गर्दैन। अन्य आप्रवासन कागजात हराएको, म्याद सकिएको वा अवैध भएमा व्यक्ति देश निकाला हुनसक्छन्।

गृह सुरक्षा विभागकी सचिव क्रिस्टि नोएम भन्छिन्, “१८ वर्षभन्दा माथिका सबै गैरनागरिकहरूले दर्ता प्रमाण सधैं साथमा राख्नुपर्नेछ। नियम उल्लंघनमा कुनै शरण हुने छैन।”

नेपाली आप्रवासीहरूले के गर्नुपर्छ?

वकिल मेनेजेसले निम्न उपायहरू अपनाउन सल्लाह दिन्छिन्:

  • सबै आप्रवासन कागजात समयमै नवीकरण गर्नुस्
  • कागजातहरूको मूल प्रति सुरक्षित राख्नुस् र स्पष्ट प्रतिलिपि वा नटरी गरिएको प्रति साथमा बोक्नुस्
  • अधिकारीहरूले कागजात लिन खोजेमा उनीहरूको परिचय र कारण लेखिएको विवरण माग्नुस्
  • आवश्यक परेमा वकिलको सहयोग माग्नुस्

यदि अमेरिकी आप्रवासन अधिकारीहरूले रोकेमा

अमेरिकास्थित आप्रवासन वकिल अभिषा परिखले सामाजिक सञ्जालमा निम्न सल्लाहहरू दिएकी छिन्:

  1. शान्त रहनुस्, भाग्ने प्रयास नगर्नुस्
  2. “म जान सक्छु?” भनेर सोध्नुस्, अनुमति पाएपछि जानुस्
  3. “ब्याज देखाउनुस्” भनेर आग्रह गर्नुस् — ICE एजेन्टहरूले police लेखिएको युनिफर्म लगाउन सक्छन्
  4. मौन रहने अधिकार छ
  5. प्रतिरोध नगर्नुस्, अनुमति बिना कुनै व्यक्तिगत वस्तु निकाल्न खोज्नुस्
  6. न्यायिक आदेश (warrant) बिना खोज तलासी अस्वीकार गर्नुस्
  7. आप्रवासन हैसियतबारे सोधिएका प्रश्नको जवाफ दिनुपर्ने छैन
  8. अमेरिकी नागरिकहरूले नागरिकताको प्रमाण साथमा बोक्नुपर्ने हुँदैन
  9. अवैध रूपमा बसिरहेका व्यक्तिहरूले पनि वकिल माग्न र मौन रहन सक्ने अधिकार राख्छन्
  10. केवल जातीयता वा रंगका आधारमा ICE ले कसैलाई समात्न सक्दैन
  11. परिवारसँग आपतकालीन योजना बनाइराख्नुस्
  12. वकिलको सल्लाह बिना केही पनि दस्तखत नगर्नुस्

यदि पक्राउ परेमा

  • तुरुन्त वकिल माग्नुस्
  • मौन बस्नुस्
  • वकिल नआउञ्जेल अरु केही नभन्नुस्

लेखक/संकलन कर्ता - अमृत भण्डारी

अमृत भण्डारी एक जुझारु उद्यमी, YouTube सामग्री निर्माता, र सोशल मिडिया रणनीतिकार हुन्, जो मानिसहरूलाई जोड्ने र अर्थपूर्ण सम्बन्ध निर्माण गर्न समर्पित छन्। Nepali in USA च्यानलका संस्थापकका रूपमा, उनले जानकारीमूलक, प्रेरणादायी, र मनोरञ्जनात्मक सामग्री उत्पादन गर्छन्।

यो पनि हेर्नुहोस

अमेरिकामा जन्मिएका युवकलाई गैरकानुनी आप्रवासी भन्दै पक्राउ, जन्म प्रमाणपत्र देखाएपछि मात्र छुट्टी

फ्लोरिडामा सवारी जाँचको क्रममा अमेरिकी नागरिक एक रात हिरासतमा, अदालतले जन्म प्रमाणपत्र प्रमाणीकरण गरेपछि रिहा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *