ललितपुरको इमाडोलस्थित ‘थ्रेड गार्मेन्ट’ का संस्थापक कृष्णराज तिमिल्सिनाले हालै अमेरिकाका डाक्टर र नर्सहरूको लागि ‘मेड इन नेपाल’ पोसाक उत्पादनमा जुटेका छन्। अमेरिकाबाट प्राप्त अर्डरअनुसार, २५ सय सेतो कोटसहित १२,५०० सेट पोसाक तयार पार्ने योजना रहेको छ। नमूना स्वीकृत भइसकेको र चाँडै नै उत्पादन प्रक्रिया सुरु हुने तिमिल्सिनाले बताएका छन्।
कृष्णराजको यो यात्रा १७ वर्षको उमेरमा काठमाडौंको तयारी लुगाको पसलबाट सुरु भएको थियो। त्यसपछि मलेसियामा २० महिना काम गरी स्वदेश फर्केर असनमा सानो पसल खोले। व्यापार विस्तार गर्दै उनले सातवटा पसल सञ्चालन गरे र होलसेल व्यापारमा पनि हात हाले। चीन भ्रमणपछि गार्मेन्ट उद्योगमा रुचि बढेर आठ वर्षअघि ‘थ्रेड गार्मेन्ट’ स्थापना गरे। हाल यस उद्योगमा एक हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।
‘थ्रेड गार्मेन्ट’ मा मुख्यतः जिन्स पाइन्ट र टी–सर्ट उत्पादन हुन्छन्। गुणस्तरीय उत्पादनकै कारण नेपाल प्रहरीको पोसाकदेखि विदेशसम्म अर्डर प्राप्त भएको तिमिल्सिना बताउँछन्। तर, कामदार अभावले उद्योग सञ्चालनमा चुनौती आएको छ। उनका अनुसार, नेपालमै महिनामा ४०–५० हजार रुपैयाँ कमाउन सकिने भए पनि विदेश जाने प्रवृत्तिले जनशक्ति अभाव भएको छ।
‘थ्रेड गार्मेन्ट’ का उत्पादनहरू मलेसिया, जापान, अमेरिका, क्यानडा लगायतका देशहरूमा निर्यात हुन्छन्। जापानमा नेपाली ढाकाकपडाबाट दौरासुरूवाल र बालबालिकाका लागि लुगा उत्पादन गर्ने योजना अन्तिम चरणमा रहेको तिमिल्सिनाले बताएका छन्। उनको मुख्य लक्ष्य ‘मेड इन नेपाल’ लोगोमार्फत नेपाललाई अन्तर्राष्ट्रिय बजारमा चिनाउनु हो। यसै उद्देश्यले उनी फ्रेन्चाइज प्रणालीमार्फत व्यवसाय विस्तार गर्ने सोचमा छन्।
News Source: Setopati.com
Nepali in USA Your Guide to Life in the USA
