काठमाडौं । विभिन्न स्थानमा भएको आगजनीका कारण प्रभावित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) पुनः सञ्चालनमा आएको छ। राजावादी आन्दोलनकारीहरूले काठमाडौंका विभिन्न भागमा आगजनी गरेपछि प्रदूषण तथा सुरक्षाका कारण उडान तथा अवतरण केही समयका लागि रोकिएको थियो।
विमानस्थल कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार कोटेश्वर, सिनामंगललगायतका क्षेत्रमा भएको आगलागीले वायुमण्डलमा धुवाँको मात्रा बढाएपछि सतर्कता अपनाउँदै विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको थियो।
“पूर्व सावधानीका लागि हामीले केही समयका लागि एयरपोर्टको उडान रोक्नुपरेको थियो। अहिले अवस्था सामान्य भएपछि पुनः उडान तथा अवतरण सुरु गरिएको छ,” प्रवक्ता शेर्पाले जानकारी दिए।
आन्दोलनकारीहरूद्वारा विभिन्न स्थानमा गरिएको आगजनीका कारण सर्वसाधारणमा त्रास फैलिएको थियो भने सडक यातायातसमेत प्रभावित भएको थियो। सुरक्षाकर्मीहरू परिचालित भएसँगै स्थिति नियन्त्रणमा आएको र विमानस्थल पुनः सञ्चालनमा आएको अधिकारीहरूले जनाएका छन्।