Tuesday , 17 June 2025

भान्साबाट सुरु भएको यात्रा, आज ४० देशसम्म फैलिएको ‘आमाको अचार’

के तपाईंले कहिल्यै ‘आमाको अचार’ स्वाद लिनुभएको छ? अझै नभए पनि यसको नाम त पक्कै सुन्नुभएको होला। नेपाली बजारमा भेटिने घरेलु अचारका ब्रान्डहरूमध्ये पछिल्लो समय जुन ब्रान्डले सबैको मन जित्न सफल भएको छ, त्यो हो ‘आमाको अचार’। यो कुनै आम ब्रान्ड होइन, यससँग जोडिएको छ संघर्ष, परिवार, माया, र परिश्रमको कथा।

यो अचारको उत्पादन चन्द्रागिरि नगरपालिकाको मातातीर्थमा रहेको कारखानाबाट हुन्छ। यहींबाट अहिले ३५ भन्दा बढी प्रकारका अचार उत्पादन हुन्छन् र ती ४० देशसम्म निर्यात भइरहेका छन्। आमाको अचारको पछाडि उभिएकी छन् संगीता पाण्डे—एक आमाको रूपमा चिनिने ती महिला, जसले आफ्नो जीवनको उत्तरार्धमा भान्साबाट सुरु गरेको यात्रा अहिले एक सफल उद्योगको रूपमा स्थापित भएको छ।

संगीताको उमेर अहिले ६३ वर्ष भइसक्यो। तर उनी आज पनि कारखाना जानुहुन्छ, आफ्नै हातले अचार बनाउनुहुन्छ, कर्मचारीसँग हाँस्दै रमाउँदै काममा जुट्नुहुन्छ। व्यवसायिक रूपमा अचार बनाउने यो यात्रा झण्डै १५ वर्षअघि सुरु भएको थियो, जब उनले समय कटाउने बहानामा केही ‘फुर्सदीको काम’ खोजेकी थिइन्।

आज त्यो फुर्सदीको काम, नेपालकै एक चिनिएको अचार ब्रान्डमा परिणत भएको छ। संगीता मात्र होइन, अब यो व्यवसायमा उनका दुई छोरा—पिताम्बर र प्रकाश, र बुहारी गोमा पनि सक्रिय छन्। जेठा छोरा पिताम्बर उत्पादन र व्यवस्थापन हेर्छन् भने कान्छा प्रकाश बजारको मोर्चामा अग्रसर छन्। गोमा भने रेसिपी र स्वादमा ध्यान दिने आत्मा हुन्। अर्थात्, यो अब ‘आमाको अचार’ मात्रै होइन, ‘परिवारको सपना’ बनेको छ।

अघिल्लो वर्षदेखि यो परिवारले ‘आमाको मसला’ नामको अर्को ब्रान्ड पनि सुरु गरेका छन्। मातातीर्थमै दुई रोपनी जमिनमा नयाँ मसला कारखाना सञ्चालनमा आएको छ, जहाँ चिकेन, मटन, थुक्पा लगायतका विशेष मसलाहरू उत्पादन गरिन्छन्। यसका रेसिपीहरू पनि संगीताकै अनुभव र ज्ञानमा आधारित छन्।

‘यी मसलाहरूमा जिरा, धनियाँसँगै लसुन र अदुवाको धुलो पनि मिसाइएको हुन्छ,’ प्रबन्ध निर्देशक प्रकाशले बताए, ‘जसले व्यस्त दैनिकीमा सहज पकाउने विकल्प दिन्छ।’

संगीताले आफ्नो श्रीमान तुलसीराम पाण्डेसँग मिलेर यो उद्योगको जग हाल्नुभएको हो। सुरूमा उनले एक रोपनी जमिन भाडामा लिएर अचार बनाउने काम सुरु गर्नुभएको थियो। पछि व्यवसाय विस्तार हुँदै जाँदा दुई रोपनी जमिन किनेर स्थायी कारखाना स्थापना भयो। आज ‘आमाको अचार’ मा ८० भन्दा बढी कर्मचारी नियमित रूपमा कार्यरत छन्। अचार सिजनमा त तीन सयजना पनि पुग्छन्।

शुरूमा संगीतालाई व्यापारको कुनै योजना थिएन। भारतको युनाइटेड बैंकमा जागिरे श्रीमानसँग विवाहपछि उनी १९ वर्षसम्म भारतमै बसिन्। त्यहाँको जीवनशैलीमा रमाउँदै उनले छरछिमेकमा बनाएको अचारले राम्रो प्रतिक्रिया पाएपछि नै उनलाई अचार बनाउने मन पलाएको थियो।

नेपाल फर्किएपछि, छोराहरू काठमाडौं आएका थिए, आफूहरू बुटवलमा। पछि बालुवाटारमा घर बनाएर काठमाडौंमै बसोबास गर्न थाले। बच्चाहरू आफ्नै पेशामा व्यस्त भएपछि, घरमा खाली समय धेरै हुन्थ्यो। संगीताले यही समय सदुपयोग गर्न चाहिन्। बुटवलमा लिएको अचार तालिम र भारतको अनुभव काम लाग्यो।

शुरूमा उनले हरियो खुर्सानीको अचार बनाएर छिमेकीलाई खुवाइन्। सबैले खुबै मन पराए। त्यसपछि ६ बट्टा अचार बनाएर ‘आमाको अचार’ टाँसेर नजिकैको पसलमा राखिन्। अचार तत्कालै बिक्यो। यसले उनलाई अझ हौसला दियो। भतिज कपिलको सहयोगमा अचार बजार पुर्‍याउन थालिन्।

तर सुरुवाती दिन सजिला थिएनन्। ‘बुबाको अचार छैन?’ भन्दै ब्रान्ड नाममा केहीले मजाकसमेत गरे। संगीताले भने हरेस खाइनन्। आफूलाई र आफ्नो गुणस्तरमा विश्वास राखिन्।

एकदिन एक जना ग्राहकले अमेरिका लैजान २५ कार्टन अचार अर्डर गरे। एक कार्टनमा १२ बट्टा अचार थियो। त्यो अर्डर पाउँदा संगीता दंग परिन्। ‘मलाई लाग्यो, मैले संसारै जितें।’ त्यो खुशीले उनलाई अझ प्रेरित गर्‍यो।

आज ‘आमाको अचार’ जापानदेखि कोरिया, अष्ट्रेलियादेखि बेलायत, अमेरिका हुँदै संसारका विभिन्न कुनामा पुगिरहेको छ। उपभोक्ताहरूको ९० प्रतिशत हिस्सा विदेशमा रहेका नेपाली हुन्।

यस ब्रान्डले डल्ले खुर्सानी, करेला, लसुन, कागती, मेथी, गुन्द्रुक, आँप, लप्सी, तामा, मुला, टिमुर लगायत थुप्रै स्वादमा अचार उत्पादन गर्छ। सबै अचार मेसिन होइन, हातैले बनाइन्छ। संगीता भन्छिन्, ‘मेसिनले सस्तो र छिटो बनाउला, तर हातको स्वाद कहाँ आउँछ र!’

आज आमाको अचारको मूल्य १५० देखि ७५० रुपैयाँसम्म पर्छ। यसको म्याद उत्पादन मितिले दुई वर्षसम्म हुन्छ। अहिले यो अचार ठूला मार्टदेखि साना किराना पसलसम्म सजिलै पाइन्छ।

संगीताको कथा केवल एक अचार बनाउने महिलाको होइन। यो कथा हो—जीवनको उत्तरार्धमा पनि केही नयाँ गर्न सकिन्छ भन्ने प्रेरणाको, परिवारको साथ र प्रेमले कसरी व्यवसायलाई बलियो बनाउँछ भन्ने उदाहरणको, र एउटा सानो भान्साबाट सुरु भएको स्वादिलो यात्राले कसरी संसारको कुना–कुनामा नेपाली स्वाद पुर्‍याउन सक्छ भन्ने प्रमाणको।
लेखिका: सबिना कार्की (Setopati)

लेखक/संकलन कर्ता - अमृत भण्डारी

अमृत भण्डारी एक जुझारु उद्यमी, YouTube सामग्री निर्माता, र सोशल मिडिया रणनीतिकार हुन्, जो मानिसहरूलाई जोड्ने र अर्थपूर्ण सम्बन्ध निर्माण गर्न समर्पित छन्। Nepali in USA च्यानलका संस्थापकका रूपमा, उनले जानकारीमूलक, प्रेरणादायी, र मनोरञ्जनात्मक सामग्री उत्पादन गर्छन्।

यो पनि हेर्नुहोस

अमेरिकाको ओहायो राज्यमा ग्रीन कार्ड होल्डरहरूलाई जमिन किन्न र सम्पत्ति राख्न प्रतिबन्ध लगाइने सम्भावना, राज्यमा नयाँ विधेयकमाथि छलफल

लेखक: सुनील धवनसंयुक्त राज्य अमेरिकाको ओहायो राज्यमा ग्रीन कार्ड होल्डर तथा विदेशी नागरिकहरूलाई जमिन खरिद …