Thursday , 12 March 2026

अमेरिकाबाट निष्कासनमा परेका भुटानी शरणार्थीलाई बेलडाँगी वा अन्य सुरक्षित स्थानमा राख्न सर्वोच्च अदालतको आदेश

अमेरिकाबाट नेपाल फर्काइएका चार जना भुटानी शरणार्थीलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको विषयमा सर्वोच्च अदालतले हस्तक्षेप गर्दै उनीहरूलाई बेलडाँगी शरणार्थी शिविर वा अन्य उपयुक्त स्थानमा स्थानान्तरण गर्न आदेश दिएको छ।

न्यायाधीशद्वय बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले बिहीबार यस्तो आदेश दिएको हो। अदालतको आदेशमा भनिएको छ, “निवेदकहरूलाई हालको प्रहरी हिरासतबाट स्थान हद तोकिएको शिविर वा अन्य उपयुक्त स्थानमा सार्न र अनुसन्धान ६० दिनभित्र सक्नुपर्छ।”

उनीहरूमाथि अध्यागमन विभागले अनुसन्धान गरिरहेको छ। आशिष सुवेदी, रोशन तामाङ, सन्तोष दर्जी र अशोक गुरूङलाई विभागले प्रारम्भिक अनुसन्धानका लागि काँकडभिट्टामा राखेको थियो। अदालतले भने अनुसन्धानका क्रममा पनि शरणार्थीहरूको मानवअधिकारको रक्षा गर्दै उपयुक्त स्थानमा राख्नुपर्ने आदेश दिएको छ।

चैत १६ गते बेलडाँगीबाट आशिष, रोशन र सन्तोष पक्राउ परेका थिए भने अशोक चैत १९ मा काँकडभिट्टाबाट पक्राउ परेका थिए। उनीहरूलाई पछि अध्यागमन विभागमा बुझाइएको थियो।

यसबीच, आशिषका बुवा नारायणकुमार सुवेदीले आफ्नो छोरालाई गैरकानुनी रूपमा थुनिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए। सोही रिटको सुनुवाइपछि अदालतले प्रहरी हिरासतलाई उपयुक्त नठानी स्थानान्तरणको आदेश दिएको हो।

लेखक/संकलन कर्ता - अमृत भण्डारी

अमृत भण्डारी एक जुझारु उद्यमी, YouTube सामग्री निर्माता, र सोशल मिडिया रणनीतिकार हुन्, जो मानिसहरूलाई जोड्ने र अर्थपूर्ण सम्बन्ध निर्माण गर्न समर्पित छन्। Nepali in USA च्यानलका संस्थापकका रूपमा, उनले जानकारीमूलक, प्रेरणादायी, र मनोरञ्जनात्मक सामग्री उत्पादन गर्छन्।

यो पनि हेर्नुहोस

डीभी भिसा पाएको युवा सहित ३७ नेपाली अमेरिका डिपोर्ट भएर काठमाडौं फर्किए

काठमाडौं, २६ जेठ – अमेरिका सरकारद्वारा डिपोर्ट गरिएका ३७ जना नेपाली आइतबार काठमाडौं फर्किएका छन्। …