Tuesday , 17 June 2025

डीभी भिसा पाएको युवा सहित ३७ नेपाली अमेरिका डिपोर्ट भएर काठमाडौं फर्किए

काठमाडौं, २६ जेठ – अमेरिका सरकारद्वारा डिपोर्ट गरिएका ३७ जना नेपाली आइतबार काठमाडौं फर्किएका छन्। तीमध्ये एक जना डाइभर्सिटी भिसा (डीभी) मार्फत कानुनी रूपमा अमेरिका पुगेका व्यक्ति समेत रहेको खुलेको छ।

अध्यागमन विभागका अनुसार, करिब एक दशकअघि डीभी भिसा प्राप्त गरेर अमेरिका पुगेका ती युवक टेक्सास राज्यमा स्थायी रूपमा बसोबास गर्दै आएका थिए। उनी त्यहाँ आफ्ना एक आफन्तको साथमा बसिरहेका थिए। तर, पारिवारिक विवादमा परेपछि प्रहरीको नजरमा परेका उनी केही समय हिरासतमा परे।

अमेरिकी प्रहरीले प्रारम्भिक अनुसन्धानपछि उनलाई कानुनी प्रक्रिया मार्फत डिपोर्ट गर्ने निर्णय गर्‍यो। उक्त निर्णयपछि उनलाई अमेरिका–नेपालबीचको चार्टर्ड उडानमार्फत काठमाडौं पठाइएको हो।

काठमाडौं विमानस्थल ओर्लिएपछि उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले संक्षिप्त रुपमा सोधपुछ गरेको थियो। एक अनुसन्धान अधिकारीका अनुसार, डीभी भिसाबाट अमेरिका गएका व्यक्ति भएकाले विस्तृत अनुसन्धान नगरी सामान्य विवरण टिपेर पठाइएको थियो। “डीभी परेर गएका व्यक्तिहरू सामान्यतया हाम्रो प्राथमिकता सूचीमा पर्दैनन्”, ती अधिकारीले बताएका छन्।

अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार, आइतबार डिपोर्ट भएर आएका ३७ जना नेपालीमध्ये ५ जना महिला थिए। उनीहरूलाई अमेरिका स्थित एरिजोना राज्यबाट ओम्नी एयर इन्टरनेशनलको विमानमा चढाएर ढाका हुँदै काठमाडौं ल्याइएको थियो।

उनीहरू सबैलाई प्रहरीले रातको समयमा विमानस्थलमै सामान्य सोधपुछ गरेपछि छाडिएको रिजालले जानकारी दिए। प्रहरीले उनीहरूलाई अमेरिका लैजाने दलाल समूहको बारेमा जानकारी लिन प्रयास गरे पनि खासै सहयोग नभएको अधिकारीहरू बताउँछन्।

यसअघि पनि डिपोर्ट भई फर्किएका नेपालीहरूबाट आवश्यक सूचना सङ्कलनमा समस्या देखिँदै आएको छ। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार, गत फागुन २१ गते डिपोर्ट भएर आएका ८ जना नेपालीले समेत आफूलाई अमेरिका पुर्‍याउने गिरोहबारे कुनै जानकारी दिन मानेका थिएनन्। “उनीहरूले जाहेरी दिन पनि अस्वीकार गरेका थिए”, ती अधिकारीले भने।

अमेरिकाले हालैका वर्षहरूमा आप्रवासन सम्बन्धी नीति झन् कडा बनाउँदै आएको छ। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पालादेखि सुरु भएको कडाइ हाल पनि जारी रहेको र अवैध रूपमा प्रवेश गर्नेहरूलाई प्राथमिकतामा राखेर डिपोर्ट गरिँदै आएको छ।

२०२५ को जनवरीदेखि मे महिनासम्मको अवधिमा मात्र अमेरिका सरकारले १४० जना नेपालीलाई डिपोर्ट गरिसकेको छ। अध्यागमन विभागका तथ्यांकअनुसार, जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मे महिनामा ५८ जना नेपाली अमेरिकाबाट निष्कासित भएका हुन्।

अधिकारीहरूका अनुसार, डिपोर्ट गरिएका अधिकांश व्यक्तिहरूले मानव तस्कर वा दलाललाई ठूलो रकम बुझाएर अमेरिका प्रवेश गरेका थिए। केहीले मेक्सिको हुँदै अवैध रुपमा सीमा पार गरेका थिए।

यो स्थिति अघिल्ला वर्षहरूमा पनि देखिएको थियो। सन् २०२१ मा ३५, सन् २०२२ मा २२, सन् २०२३ मा २४ र सन् २०२४ मा ५२ जना नेपाली अमेरिका सरकारले डिपोर्ट गरेको अध्यागमन विभागको रेकर्डमा उल्लेख छ।

नेपाल फर्किने डिपोर्टीहरूको संख्यामा निरन्तर वृद्धि देखिएसँगै सुरक्षा निकायले मानव तस्कर गिरोहको गतिविधिमा थप निगरानी बढाएको जनाइएको छ।

लेखक/संकलन कर्ता - अमृत भण्डारी

अमृत भण्डारी एक जुझारु उद्यमी, YouTube सामग्री निर्माता, र सोशल मिडिया रणनीतिकार हुन्, जो मानिसहरूलाई जोड्ने र अर्थपूर्ण सम्बन्ध निर्माण गर्न समर्पित छन्। Nepali in USA च्यानलका संस्थापकका रूपमा, उनले जानकारीमूलक, प्रेरणादायी, र मनोरञ्जनात्मक सामग्री उत्पादन गर्छन्।

यो पनि हेर्नुहोस

अमेरिकाबाट निष्कासनमा परेका भुटानी शरणार्थीलाई बेलडाँगी वा अन्य सुरक्षित स्थानमा राख्न सर्वोच्च अदालतको आदेश

अमेरिकाबाट नेपाल फर्काइएका चार जना भुटानी शरणार्थीलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको विषयमा सर्वोच्च अदालतले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *