✍️ समाचार डेस्क
अमेरिकाले पछिल्ला छ महिनामा १६३ जना नेपाली नागरिकलाई विभिन्न कारणमा निष्कासन (डिपोर्ट) गरेको छ। अमेरिकी अध्यागमन कानुन उल्लंघन गरी अमेरिका प्रवेश गरेका वा त्यहाँ गैरकानुनी रुपमा बस्दै आएका नेपालीहरूलाई कारबाहीस्वरूप फिर्ता पठाइएको हो।
निष्कासनमा परेकामध्ये सबैभन्दा धेरै व्यक्ति पश्चिम नेपालको दाङ, रुकुम (पूर्व/पश्चिम), सल्यान, रोल्पा, बाँके, म्याग्दी, बागलुङ लगायतका जिल्लाबाट रहेका छन्।
पश्चिम नेपालबाट सर्वाधिक डिपोर्ट
नेपाल फर्काइएका मध्ये ५१ जना दाङका, ३० जना पश्चिम रुकुमका र १३ जना पूर्वी रुकुमका छन्। अन्य जिल्लाको विवरण यसप्रकार छ:
जिल्ला | संख्यामा डिपोर्ट |
---|---|
दाङ | ५१ |
पश्चिम रुकुम | ३० |
पूर्व रुकुम | १३ |
सल्यान | ९ |
म्याग्दी | ७ |
पर्वत, बाँके, रोल्पा | ६/६ |
बागलुङ | ५ |
सिन्धुपाल्चोक | ४ |
अन्य १८ जिल्ला | २६ |
गिरोहमार्फत अमेरिका प्रवेश, करोडौं असुली
नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोका अनुसार धेरै नेपाली अवैध बाटो (डंकी रुट) प्रयोग गरी अमेरिका पुगेका थिए। यस्ता व्यक्तिहरूबाट मानव तस्कर गिरोहले प्रति व्यक्ति ५० लाखदेखि १ करोड रुपैयाँसम्म असुलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
ब्युरो प्रमुख एसएसपी कृष्ण पंगेनीका अनुसार, “डिपोर्ट भएर फर्किएका व्यक्तिहरूको धेरैजसोले कसैको नाम या थर त बताउँछन्, तर विस्तृत विवरण दिन हिच्किचाउँछन्।”
चार्टर्ड विमान र नियमित उडानद्वारा फिर्ता
अमेरिकी प्रशासनले केहीलाई नियमित उडानमार्फत पठाएको भए पनि गम्भीर आपराधिक पृष्ठभूमि भएका केहीलाई चार्टर्ड विमानमार्फत फिर्ता गरेको छ। पछिल्लो ६ महिनामा दुईपटक चार्टर्ड उडानमार्फत ४५ जना नेपाल फर्काइएको हो।
- फागुन २१: ८ जना (७ पुरुष, १ महिला)
- जेठ २४: ३७ जना (३२ पुरुष, ५ महिला)
गिरोहको नाम खुलाउन फिर्ता भएकाहरू अनिच्छुक
डिपोर्ट भई फर्किएका अधिकांश व्यक्तिहरूले आफू पैसा तिरेर अमेरिका पुगेको कुरा स्वीकार गरे पनि, मानव तस्करीमा संलग्न व्यक्तिहरूको नाम लिन चाहँदैनन्। प्रहरी स्रोतका अनुसार, “कसैले पनि जाहेरी दिएका छैनन्, जसले तिनीहरूलाई अमेरिका पुर्याएको हो त्यसैलाई कारबाही किन गर्ने भन्ने सोच देखिन्छ।”
‘फेक रिफ्युजी’ प्रकरणपछि अमेरिका थप कडाइमा
नेपालमा नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने काण्ड सार्वजनिक भएपछि अमेरिकाले नेपालको अध्यागमन र मानव तस्करी नियन्त्रण क्षमतामाथि चासो देखाएको छ। यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक सहसचिव र उनकी श्रीमतीको अमेरिकी भिसा खारेज भएको घटनाले पनि अमेरिकालाई सतर्क बनाएको हो।
टीपीएस अन्तर्गत रहेका नेपाली पनि सूचीमा
स्रोतका अनुसार, अमेरिका भित्रिएका कागजातविहीन करिब ३,५०० नेपालीमध्ये २,००० जना ‘टेम्पोररी प्रोटेक्टेड स्टाटस’ (TPS) मा रहेकाहरू हुन्, जसलाई पनि डिपोर्टको सूचीमा राखिएको छ। ट्रम्प प्रशासनले जनवरी २०२५ देखि गैरकानुनी बसोबासविरुद्ध व्यापक कारबाही अभियान सुरु गरेको हो।